बाहिर झरी दर्किरहेको छ, समयलाई पखाल्दै
भिजेको आँत बोकेका ति मान्छे
लग-लग काँपेझै गर्छन् ,
स्वार्थिपन को छाता ओढ्दा
भित्रि मुटु के पो भिज्थ्यो र?
क्षीतिजको सूर्य सँगैका ति कालाम्मे बादल,
अनि, उस्तै काला ति भित्री मनहरू
जतिनै रूझे पनि पखालिन्नन्
प्रश्न सोध्ने सोधिरहन्छन्,
उत्तर खोज्ने भौतारिरहन्छन्,
पारि डाँडाबाट प्रतिवादको एउटा सानो चित्कार सुनिन्छ
जसलाई दबाउन अब झरी झनै दर्किन्छ
बिजेताको संज्ञा पाउँदा
अरु केही शरीर "भिजौ न त" भन्दै थपिन्छन्
केही नभिजेका शरीर छेवैबाट गुज्रिन्छन्,
ती भिजेका शरीरलाई पुलुक्क एकचोटी फर्केर समेत नहेरि...
आफ्ना ती काला बादलसँगै, गम्किएको झरी पछि-पछि लाग्छ
नयाँ ठाउँमा नयाँ शिकार खोज्दै
***
– निश्चल बस्नेत (July 2014)

Leave a comment