भिजेको कागतमा नफुलेका अक्षर जस्तो अपवाद म
संसारिक यथार्थका बिचमा कठपुतली सरह बाचिँरहेछु
ब्यग्र यी मनका अनगिन्ती प्रश्नहरु
पल-पलमा घाऊ बनी चहर्याहिरहेछन्
आँखा एकटकले समयसगँ रोकिरहँदा
म पनि त्यही रोकीई बस्न खोज्छु
तर, यथार्थमा रुझी बसेका ती "सुखी" आत्माहरु
मलाई "उद्दार" गर्न भनी आँउछन्
शान्त मेरो आत्मा मलाई प्रश्न गर्दछ,
"तेरो अस्तित्व खोइ ?" भनेर
म सुनेर पनि नसुने झै गर्दिन्छु
किनकि मेरो अस्तित्व र उद्देश्यको पत्तो मलाई निसन्देह छैन
मन भारी भई भक्कानो छुट्न खोज्छ
तर, सायद तिनै यथार्थीको छाँया परेर होला
पापी यी ओठ खुलेर हाँसिदिन्छन्, दुनियाँँलाई खुसी पार्न भनी
बिरानो गाउँमा हराएको परदेशीको मन सरि
मेरो मन पनि आत्तिरहन्छ,
मेरो आत्मा त्यहिबेला मबाट भागिदिन्छ
लाचार म, स्वार्थी आँशु झार्दै बसिरहन्छु
***
– निश्चल बस्नेत (Nov 2015)

Leave a comment