सुन्दा सरल लाग्थ्यो, कहिलेकाँही अझै पनि लाग्छ
तर, आँखा चिम्ली मनलाई सोध्धा अझै अनभिज्ञ नै छु
यो मैले अपनाउन नसकेको कथा,
या मैले पत्याउन नसकेको कथा ... खै के थाहा ?
खाली कागजमा आज पनि म यही कथा कोर्छु
तर अफसोस, चित्र सधैं झै अस्पस्ट अनि श्यामश्वेत
यो मैले रँगाउन नसकेको कथा,
या मैले जानि-जानि बिथोलेको कथा ... खै के थाहा ?
सँगैका यात्री यही कथाको रसपान गर्दैछन्
मधहोश उनीहरु संसार भुले सरि खुशीमा लिप्त छन्
यो मैले बुझ्न नसकेको कथा,
या मैले बुझ्न नसकेका यि मान्छे ... खै के थाहा ?
थोरै इर्ष्या अनि धेरै आशा लिई अन्जुली फैलाउछु फेरि यही कथा सामु
उस्को निर्जीब त्यो प्रतिक्रिया मलाई भोली फेरी आउन संकेत गर्छ
यो मैले भगवान बनाएको कथा,
या मलाई दासी बनाएको यो कथा ... खै के थाहा ?
कहिलेकाँही सपनीमा पनि आउछ कथा
मेरो अतृप्त मनलाई मृगतृष्णा दिई जान्छ
यो मैले जिउन नसकेको कथा,
या मलाई जिउन नदिने यो कथा ... खै के थाहा?
मेरो कात्रो सँगै डढेर जाला यो कथा
कि त आत्मा सँगै फर्किआउला फेरी
यो मैले छोड्न नसकेको कथा,
या मैले छोड्न नचाहेको कथा ... खै कसलाई के थाहा ?
***
– निश्चल बस्नेत (Sep 2019)

Leave a comment