एक चिर सुन्यता..
न केहीको उपस्थिति, न कोहीको अस्तित्त्व,
केवल अनन्त रिक्तता,
र त्यो चिसो अन्धकार..
जहाँ आदि छ,
र,
जुन अन्त्य पनि हो
हो, त्यही नै हो,
मेरो गन्तव्य,
मेरो पुर्व-लिखित अभिप्राय
जहाँ म बिलिन हुनेछु पक्का,
उसको परिधिमा
ऊ — जो मेरो मात्र होइन,
जो ममा मात्र छैन निहित,
ऊ त छ सर्वदा,
हरेक पलकमा, हरेक झलकमा
हरेक श्वास, अनि हरेक आत्मामा
जन्मका चीत्कार देखि सन्तापका रोदन सम्म,
कटु सत्य देखि मीठा श्लोक सम्म
सर्वाकार अनि सर्वव्या्पी छ ऊ
मेरो परम सत्य हो ऊ,
मेरो अस्तित्वको स्वामी
मेरो तपनको ज्वाला,
र मेरो शितलता पनि
सर्दै छन् मेरा यी पाइला
निरन्तर उसकै तिर
र चाहान्न म रोकिन एक पल पनि
मेरा तमस नरित्तिए सम्म,
यो शरीर भस्मित नभए सम्म
मलाई विश्वास छ,
देह र मसानको सीमा पारी छ ऊ,
पर्खी बसेको छ त्यहाँ,
त्यही अविरल सुन्यतामा,
जहाँ,
उसको अशं म, हुनेछु उसैमा समाहित
र पाउनेछु मेरो सम्पूर्णता
***
– निश्चल बस्नेत (Nov 2024)


Leave a comment