हे प्राणी, अब त जाग तिमी !
हेर त, कल्पौ बितिसकेका छन्
जहाँ तिम्रा कैयौँ आत्मा-सवार देहहरुले
जन्म देखी मृत्यु सम्मको निरर्थक यात्रा गरिसके
प्राणी ! के अझै पनि निदाएकै छौ सदा झै, ती सांसारिक आँखा खोलेर ?
अब ती आँखा बन्द गर
अनि जाग तिमी ! अति शीघ्र जाग !
तिनै बन्द आँखाले मात्र देख्नेछौ
तिमीले आफ्नो प्रकृति, जो प्रतिक्षारत छिन् सदियौँ देखि
तिम्रो साँचो आत्मनिरीक्षणको लागि
त्यस्तो निरीक्षण,
जहाँ तिमी स्वयम आफुलाई नै चिन्न नसकौला सायद
तर, अहिले सम्म कृत्रिम-जीवित हुँदा पनि कहाँ नै चिनेको छौ र तिमीले आफुलाई ?
यति बिघ्न समय देखि रुमलियौ तिमी,
सकेनौ सुन्न त्यो नैसर्गिक झक्झकाहट ? कि त कहिले चाहेनौ सुन्न ?
तर, अब समय आएको छ आफ्नो प्रतिबिम्ब हेर्ने !
नडराउ प्राणी ! तिम्रो परमचेतनाको मौलिक माग हो यो !
त्यो आदिचेतना, जहाँ तिम्रो असली अस्तित्व सदैब रहि आएको छ
अब समय आएको छ
बिधयमान ती सङ्कीर्ण सांसारिक चक्रव्यूह तोड्ने,
अनि मार्ग खोज्ने,
प्रश्न, उत्तर, अनि प्रति-प्रश्नको त्यो कठीन पदयात्रा गर्ने
चाल ती कौतुहल पाइला !
निरन्तर अनि निसन्देह, त्यही जटिल मार्गमा
अघि बढ ! बेजोड अनि अटल
आफ्नो हरेक श्वासमा त्यही संगम बिन्दु खोज तिमी
जहाँ तिम्रो चित् र आनन्दको मिलन हुनेछ
र,
मेटाउ त्यो आत्माको अतृप्तता
जुन तिम्रो परमचेतनाको प्यासी छ
सुनाउ आफुलाई त्यो परमचेतनाको मृदुल ध्वनी
अनि महसुश गर, त्यो दिव्य स्पन्दन !
***
– निश्चल बस्नेत (Jan 2025)


Leave a comment